Saturday, December 18, 2010

दन्तकालीदेखि सिद्धकाली जाऔँ यसैपालि

संखुवासभा जिल्लाको पुरानो चैनपुर बजार धरानबाट १४० किलोमिटर दूरीमा पर्दछ । कोशी राजमार्गमा पर्ने रमणीय स्थानहरू भेडेटार, धनकुटा, हिले, वसन्तपुर हेर्दै करिब ७ घण्टाको बसयात्रापछि चैनपुर पुग्न सकिन्छ । विराटनगरबाट हवाईमार्ग प्रयोग गर्न चाहनेका लागि भने करिब २० मिनेटको उडानपछि तुम्लिङटार पुगेपछि गाडीबाट डेढ घण्टामा २८ किलोमिटरको यात्र तय गरेर चैनपुर पुग्न सकिन्छ । अनि तपाईं काठमाडौँमा हुनुहुन्छ र बसको लामो यात्रा तपाईंका लागि अनुकूल हुँदैन भने काठमाडौँ-तुम्लिङटारको हवाईयात्रा छान्ने विकल्प पनि छ । करिब ४५-५० मिनेटको हवाई यात्रासहित अढाई घण्टाको छोटो समयमै काठमाडौँको जञ्जाल र कोलाहलबाट सुन्दर, शान्त, पहाडी बजारमा तपाईं आफूलाई पाउनु हुनेछ । कल्पना गर्नुस् कति आनन्द हुनेछ कति अनौठो लाग्नेछ ।

यही २०६६ माघ २८, २९ र फागुन १ गते ३ दिन संखुवासभा जिल्लाको चैनपुरमा आयोजना हुने 'चैनपुर महोत्सव' तपाईंको लागि चैनपुर जाने एउटा उत्तम अवसर हुनेछ । चैनपुर छाडेर बाहिर बस्नु हुने तपाईं चैनपुरेहरू सोच्नुहोस्, त्यसबेला तपाईंको आफन्त, साथी-सङ्गी, इष्टमित्रसँग पुरानो स्मरण साट्न र चैनपुरका विगतका रमाइला क्षणहरूको अनुभूति चैनपुरमै गर्न पाउनु हुनेछ ।

पहिलोपटक चैनपुर पुग्नु हुनेहरूलाई चैनपुरले आनन्दित तुल्याउनेछ । भादगाउँ, पाटन आदि क्षेत्रबाट आइबसेका नेवार समुदायका शाक्य र श्रेष्ठहरूको बाहुल्य रहेको बजारमा भादगाउँ र पाटनकै झल्को पाउनु हुनेछ । पङ्क्तिबद्ध भई दोहोरो लङमा उभिएका घरहरूको आँगनमा ओछ्याइएका ठूला ठूला चेप्टा ढुङ्गाले बजारलाई सुन्दर र सफा बनाएका छन् जसले तपाईंको पनि मन पक्कै लोभ्याउनेछ । त्यस्तै बजार र बजार वरिपरि रहेका बाहुन, क्षेत्री, राई, लिम्बू, तामाङ, विश्वकर्मा, दमाई र सार्की जस्ता विभिन्न जातजातिको मिश्रति समाजले यस ठाउँलाई साँच्चिकै पूर्ण र जीवन्त बनाएको छ । यो हिन्दु, बौद्ध, किराँत र अन्य धर्मावलम्बीहरूको सहिष्णु र स्वावलम्बी समाजको एउटा अनुपम उदाहरण पनि हो ।

यो महोत्सवले तपाईंलाई यी सबै जातजातिको धार्मिक र सांस्कृतिक पक्षको अवलोकन गर्ने अवसर प्रदान गर्नेछ । ती जातजातिका भेषभूषा, लोकगीत, लोकनृत्य र स्थानीय स्वादका खानाका परिकारले तपाईंलाई सन्तुष्टि प्रदान गर्नेछन् । साथै यो छोटो अवधिमा त्यस भेगकै सिङ्गो समाजलाई नियाल्न र वर्षभरिकै चाडपर्व, जात्रा-मेला, हाट-बजार आदिको झलक देख्न सक्नुहुनेछ । लाखे, मारुनी, धाननाच, पञ्चैबाजा जस्ता थुप्रै मौलिक प्रस्तुतिले मनोरञ्जन प्रदान गर्नेछ ।

यो अवसरमा यस क्षेत्रकै कृषि उत्पादन, वनपैदावर, घरेलु उद्योगका उत्पादन, लोक्ता -नेपाली कागज) अल्लो, रुद्राक्ष, पाँचऔँले, यार्सागुम्बा, अलैँची, माछा, सख्खर, कुराउनी, घिउ, करुवा, पानस, खुकुरी, डोको, डालो आदि तपाईंका लागि आकर्षक वस्तु हुनेछन् ।

मकालु हिमशृङ्खलाको सुन्दर दृश्यले शीतलता प्रदान गर्नेछ भने बजार छेवैमा रहेका रोमाञ्चक एवं धार्मिक आस्थाका प्राकृतिक गुफाहरूको यात्रा पनि कम रोचक हुने छैनन् । यदि तपाईं पदयात्रा गर्न मन पराउनु हुन्छ र हल्का जोरजाम गर्न सक्नुहुन्छ भने चैनपुरबाट र्फकंदा वा चैनपुर जाँदा नूनढाकीको तातोपानी, गुफा पोखरीको मनोरम दृश्य र ढकमक्क डाँडै ढाकिएको मिल्केको लालीगुराँस हेर्दै र रमाउँदै घुम्ने मौका नचुकाउनु होस् ।

श्री स्वस्थानी व्रतकथामा उल्लेखित सतीदेवीको दाहिने आँखा पतन भएको यस स्थानमा दशदिक्पालले तपस्या गरी प्रकारेश्वर महादेव उत्पत्ति भई स्थापना भएको पवित्र धार्मिकस्थल श्री सिद्धकालीको दर्शन गर्न सकिनेछ । यो स्थान चैनपुर बजारबाट एक घण्टाको पैदलयात्राबाट सजिलै पुग्न सकिन्छ । यो अवसरले शक्तिपीठहरूको दर्शन गर्ने जीवनको धोको पूरा हुनेछ । भनिन्छ विभिन्न शक्ति पीठहरूको दर्शनपछि सिद्धकालीको दर्शन गरे सिद्धि प्राप्त हुनेछ । धरानको दन्तकाली दर्शन गरी सिद्धकालीको दर्शनमा जानुस् तपाईंको मनोकामना पूरा हुनेछ । 'दन्तकाली टु सिद्धकाली, जाऔँ यसैपालि ।

चैनपुर महोत्सवकै व्यवस्थापनका क्रममा स्थानीय महिला समूहका सदस्यलाई पाहुनालाई वास दिन, सत्कार गर्न, मीठो पकाउन र घर आँगन सफा राख्न अनुरोध गर्दा मन पनि सफा राख्ने वचन दिनुभएको छ । साँच्चै उहाँहरूको उत्साह र उमङ्गले साकार रूप लेओस् । चैनपुरले पर्यटन वर्ष २०११ को अवसरमा नयाँ पर्यटनको थलो बन्ने जमर्को गर्दैछ, तपाईं पनि साथ दिनुहोस् । 'सबै जुटौँ चैनपुरलाई सुन्दर र समृद्ध बनाआँै । चैनपुर जाआँै ।

No comments:

Post a Comment