Friday, November 20, 2009

पाँचतारे होटलमा कोठा छैन


काठमाडौं र पोखराका पाँचतारे होटलका सबै कोठा आगामी दुई महिनासम्मका लागि खाली छैनन्।पर्यटक आगमनको 'पिक सिजन' सुरु भएका कारण पाँचतारे होटलमा खाली कोठा पाउन मुस्किल भएको हो । काठमाडौंमा आठ र पोखरामा दुईवटा यस्ता होटल सञ्चालनमा छन्। पिक सिजनको पहिलो महिना सेप्टेम्बरमा ती होटलका कोठा ८० प्रतिशतसम्म भरिएका थिए। बाँकी दुई महिनाका लागि कुनै पनि होटलले पर्यटकलाई कोठा उपलब्ध गराउन नसक्ने भएका छन्।
'अक्टोबर र नोभेम्बरका लागि सबै कोठा बुकिङ भइसकेको छ,' पाँचतारे याक एन्ड यतीका सेल्स एन्ड मार्केटिङ विभागका एसोसिएट डाइरेक्टर सुरेन्द्रचन्द ठकुले बुधबार नागरिकसँग भने, 'दुई महिनालाई प्रत्येक रात २ सय कोठा बेचिसकेका छौं।' कूल २ सय ७० कोठा रहेको याक एन्ड यतीले २ सय ४३ कोठा बिक्री गरिरहेको छ। अन्य पाँचतारे होटलले पनि कोठा भरिएको जानका दिएका छन्।
नेपालमा पर्यटक आगमनको पिक सिजनका रूपमा अंग्रेजी महिना सेप्टेम्बर, अक्टोबर र नोभेम्बरलाई लिइन्छ। गत सेप्टेम्बरमा पाँचतारे होटलका अकुपेन्सी ६५ देखि ८० प्रतिशतसम्म पुगेको थियो। राजनीतिक स्थिरता भएमा चालु अक्टोबर र आगामी नोभेम्बरका लागि कोठा भराइदर 'अकुपेन्सी' लगभग सतप्रतिशत हुने अनुमान होटलको छ। गत महिनाको आम्दानी भने होटलले खुलाउन चाहेनन्।
हवाई मार्ग हुँदै नेपाल घुम्न आउने पर्यटक गत सेप्टेम्बरमा ५ दशमलव ५ प्रतिशतले बढेका थिए। संख्या ३४ हजार २ सय ८१ पुगेको थियो।
'सेप्टेम्बरमा ६५ प्रतिशत अकुपेन्सी थियो,' ठकुले भने, 'यसमा ६० प्रतिशत पर्यटक र ४० प्रतिशत कर्पोरेट ट्राभलर थिए।' गत महिनाको अकुपेन्सी सन् २००८ सेप्टेम्बरका तुलनामा १० प्रतिशतले बढी भएको उनले बताए। उक्त अवधिमा अमेरिका, चीन, स्पेन र फ्रान्सका पर्यटक होटलमा बढी थिए।
याक एन्ड यतीले प्रतिकोठा प्रतिरात करबाहेक ८५ देखि १ सय २० अमेरिकी डलरमा बेचिरहेको छ। यसमा २४ दशमलव ३ प्रतिशत कर लाग्छ। अधिकतम मूल्यतर्फ प्रतिकोठा प्रतिरात करबाहेक १ सय ५० देखि ३ सय ५० डलरसम्म बिक्री गरिरहेको छ।
देशको पहिलो पाँचतारे होटल सोल्टीको अकुपेन्सी गत सेप्टेम्बरमा ७० प्रतिशत पुगेको थियो। 'अघिल्लो वर्षको तुलनामा यो प्रतिशत केही कम भए पनि आम्दानीका हिसाबमा राम्रै हो,' होटल स्रोतले भन्यो, 'बढी पैसा खर्च गर्ने पर्यटक बसेका कारण आम्दानी राम्रो भयो।' २ सय ८३ कोठा रहेको सोल्टीले अक्टोबरमा ६५ देखि ७० र नोभेम्बरमा ८५ प्रतिशत बुकिङ भइसकेको जनाएको छ।
स्रोतका अनुसार सोल्टीमा गत महिना युरोपेली पर्यटक संख्या बढी थियो। पर्यटकलाई थप आकर्षित गर्न सोल्टीले करोडौं लगानी गरेर सबै कोठाका फ्लोर, बाथरुमलगायत परिवर्तन ग/L आधुनिक शैली दिएको छ। बैठक हल, बल रुम (मेघा मल्हार) मा पनि सामान्य परिवर्तन गरिएको छ।
'गतमहिना प्याकेजमा आउने पर्यटक धेरै थिएनन,' स्रोतले भन्यो, 'प्याकेजमा भारतीय पर्यटक बढी आउँछन्। सोल्टी आउने कूल पर्यटकको करिब आधा हिस्सा भारतीयको हुन्छ।' सन् २०१० पहिलो त्रैमासिकबाट पुनः आन्तरिक सजावट परिवर्तनको काम सुरु हुनेछ। सोल्टीले प्रतिकोठा प्रतिरात करबाहेक न्युनतम ९० देखि ९ सय डलरसम्म बेचिरहेको छ।
अर्को पाँचतारे र्‍याडिसनको अकुपेन्सी गत महिना ६५ प्रतिशत थियो। 'अक्टोबर र नोभेम्बरमा अकुपेन्सी ९० प्रतिशत पुर्‍याउने लक्ष्य छ,' र्‍याडिसनका महाप्रबन्धक अभिनवनसंह राणाले भने, 'हामी आशावादी छौं। राजनीतिक स्थिरता आए लक्ष्य पूरा हुन्छ।' सेप्टेम्बरमा युरोप, अमेरिका, थाइल्यान्ड र भारतका पर्यटकले र्‍याडिसनका कोठा भरिएको थियो।
१ सय ६० कोठे र्‍याडिसनले प्रतिकोठा प्रतिरात करबाहेक १ सय ८५ देखि ६ सय ५० डलरमा बिक्री गरिरहेको उनले जानका दिए। यो महिनाबाट होटलका सबै कोठाका ढोकामा 'इन्फ्रारेड लक' राखिने उनले बताए। 'कोठा थप्ने योजना पनि छ,' उनले नागरिकन्युजलाई भने।
पाँचतारे साँग्रिलाको अकुपेन्सी सेप्टेम्बरमा ८१ दशमलव ३ प्रतिशत पुगेको वरिष्ठ महाप्रबन्धक राजुविक्रम शाहले जानका दिए। गतवर्ष सेप्टेम्बरमा करिब ६१ प्रतिशत अकुपेन्सी थियो। 'चालु अक्टोबरमा ९१ र आगामी नोभेम्बरमा ८७ प्रतिशत अकुपेन्सी पुग्ने अनुमान छ,' उनले भने, 'हाम्रो लक्ष्य ९० प्रतिशतभन्दा माथि हो। राजनीतिक स्थिरता भए लक्ष्य भेटिन्छ।'
कूल १ सय कोठा रहेको साँग्रिलाले प्रतिकोठा प्रतिरात करबाहेक औसत ४ हजार ५ सय ५ रुपैयाँमा बेचिरहेको छ। शाहका अनुसार होटलका तीन तलामा रहेका सबै कोठाका आन्तरिक सजावट परिवर्तन गरेर 'डिलक्स' बनाइएको छ। कोठामा स्पेनी टायल र अमेरिकी गुणस्तरको बाथरुमका सामान राखिएको र मिनीबार बनाइएको छ।
होटललाई 'इको फ्रेन्डली' बनाउन लोक्ता कागजलगायत प्रयोगमा ल्याएको उनले बताए। 'यसले नेपाली संस्कृति र परम्परा पनि झल्काउँछ,' उनले भने। सबै कोठामा मलेसियन 'किने' फर्निचर राखिएको छ। करिडोरदेखि कोठासम्मका सजावट परिवर्तन गरी नयाँ आकर्षण थपिएको छ।
अर्को पाँचतारे डेल अन्नपूर्णले गत महिना ६५ प्रतिशत अकुपेन्सी पुर्‍याएको थियो। 'गतवर्ष सेप्टेम्बरको दाँजोमा यो सात प्रतिशतले बढी हो,' होटलका महाप्रबन्धक दोर्जी शेर्पाले भने, 'तर, यो हामीले आशा गरेअनुसार होइन।' त्यस अवधिमा युरोप, अमेरिका र भारतका पर्यटक संख्या होटलमा बढी थियो।
अक्टोबर र नोभेम्बरका लागि ८० प्रतिशत अकुपेन्सी लक्ष्य लिएको उनले बताए। १ सय ५० कोठे अन्नपूर्णले प्रतिकोठा प्रतिरात करबाहेक ४ हजारदेखि ४ हजार ५ सय रुपैयाँमा बेचिरहेको छ। उनका अनुसार सन् २०१० बाट नयाँ भवन निर्माण गरेर कोठा थपिनेछ। 'सबै तयार भएपछि होटलको कोठा संख्या २ सय ५० पुर्‍याउने लक्ष्य छ,' उनले भने, 'सबै कोठाको आन्तरिक सजावट परिवर्तन भइसक्यो भने ब्यांक्वेट हल पनि परिवर्तन गर्दैछौं।'
साँग्रिलाले सञ्चालन गरेको पोखरास्थित चारतारे साँग्रिला भिलेज रिसोर्टको गत महिनाको अकुपेन्सी करिब ६० प्रतिशत रहेको साँग्रिलाका वरिष्ठ महाप्रबन्धक शाहले जानका दिए। ६१ कोठे रिसोर्टका सबै कोठाको आन्तरिक सजावट परिवर्तन गरिसकिएको छ। 'आगामी नोभेम्बर १ बाट स्पा सुरु गर्दैछौं,' उनले भने, 'यसबाट होटल आउने पर्यटक थप आकर्षित हुनेछन्।'

No comments:

Post a Comment